(१) कुनै न्यायाधीशको पदीय कामको सिलसिलामा दुर्घटनामा परी तत्कालै मृत्यु भएमा वा त्यसैको कारणबाट निको नहुँदै पछि मृत्यु भएमा निजको विधवा पत्नी वा विधुर पतिलाई देहाय बमोजिमको छुट्टै आजीवन मासिक पारिवारिक वृत्ति र त्यसमा थप देहाय बमोजिमको पटके उपदान समेत दिइनेछः–
पारिवारिक
वृत्तिको मासिक दर पटके उपदान
(क) उच्च अदालतको न्यायाधीश दुई सय पचास रुपैयाँ आठ हजार सात सय पचास रुपैयाँ
(ख) जिल्ला अदालतको न्यायाधीश एक सय पञ्चानब्बे रुपैयाँ छ हजार पाँच सय रुपैयाँ
(२) उपदफा (१) बमोजिमको आजीवन मासिक पारिवारिक वृत्ति तथा थप उपदान दिने प्रयोजनको लागि न्यायाधीशको विधवा पत्नी वा विधुर पतिलाई देहायको अवस्थामा मात्र मान्यता दिइनेछः–
(क) न्यायाधीशको मृत्यु हुनुअघि निजसँग वैवाहिक सम्बन्ध कायम भइसकेको,
(ख) न्यायाधीशको मृत्यु भएको समयमा निजसँग सगोलमा बसेको ।
(३) विधवा पत्नी नभएमा वा पतिको मृत्युअघि निजबाट छुट्टिसकेको भएमा वा विधवा पत्नीको पुनर्विवाह भइसकेकोमा विधवा पत्नीबाट जन्मेको सन्तानलाई उपदफा (१) बमोजिमको पटके उपदान दामासाहीले एकमुष्ट दिन सकिनेछ ।
तर अठार वर्षभन्दा कम उमेरका सन्तान रहेछन् भने निजहरूको गुजाराको निमित्त नेपाल सरकारले मनासिब देखेको अवधिसम्मको लागि विधवा पत्नीले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाईमा नबढ्ने गरी मनासिब दरले पारिवारिक वृत्ति पनि प्रदान गर्न सक्नेछ ।
(४) मृत न्यायाधीशको विधवा पत्नी, विधुर पति वा सन्तान रहेनछन् र त्यस्तो न्यायाधीशको आश्रित आमा, बाबु वा सासू, ससुरा दुवै वा दुईमध्ये एक रहेछन् भने निजहरूको गुजाराको निमित्त नेपाल सरकारले मनासिब देखेको अवधिसम्मको लागि विधवा पत्नी वा विधुर पतिले पाउने पारिवारिक वृत्तिको अङ्को दुई तिहाईमा नबढ्ने गरी मनासिब दरले पारिवारिक वृत्ति प्रदान गर्न सक्नेछ ।
(५) मृत न्यायाधीशको विधवा पत्नी, सन्तान वा आमा बाबु वा सासू, ससुरा कुनै रहेनछन् र त्यस्तो न्यायाधीशको आश्रित दाजुभाइ वा अविवाहिता दिदी बहिनीमध्ये कुनै रहेछन् भने निजहरूको गुजाराको निमित्त नेपाल सरकारले मनासिब देखेको अवधिसम्मको लागि दामासाहीले विधवा पत्नी वा विधुर पतिले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाईमा नबढ्ने गरी मनासिब रकम पारिवारिक वृत्ति प्रदान गर्न सक्नेछ ।